राष्ट्रियसभा निर्वाचनः निर्वाचन आयोगले गर्‍यो २१ बुँदे स्वास्थ्य मापदण्ड अनिवार्य (यस्ता छन् मापदण्ड)

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोभिडकै बीचमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा निर्वाचन आयोगले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य गर्ने भएको छ ।

निर्वाचन आयोगले यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको हो । कोभिड–१९ महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थालाई मध्यनजर गर्दै आयोगले स्वास्थ्य मापदण्ड लागू गरेको हो ।

आयोगले बिहीबार विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायतसरोकारवालाले मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ ।

आयोगको निर्देशनअनुसार मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाउनुपर्नेछ भने अनिवार्य रुपमा मास्क पनि लगाउनुपर्नेछ । मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था समेत गर्न आयोगले निर्देशन दिएको छ ।

यस्तै मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्री सहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था गर्न समेत आयोगले निर्देशन दिएको छ । भौतिक दूरी कायम गर्न, अनावश्यक भिडभाड हुन नदिन, मतदान स्थलमा अनिवार्य रूपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

यस्तै निर्वाचनमा कारोना संक्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन ।संक्रमित मतदातालाई छुट्टै लाइनको व्यवस्था गर्न पनि आयोगले निर्देशन दिएको छ ।

२१ बुदेँ मापदण्ड हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • ६ माघ २०७८, बिहीबार १५:२५ प्रकाशित