आजदेखि निर्वाचनका लागि प्रचार–प्रसार गर्न पाइने

केन्द्रभाग मिडिया

काठमाडौं ।

यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) देखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । आजदेखि यही १८ फागुनसम्म राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् । निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।

निर्वाचन आयोगले आचारसंहिता राजनीतिक दल एवं सरोकारवाला पक्षहरूसँग व्यापक विचार–विमर्श गरेर तर्जुमा गरिएको स्मरण गराउँदै पूर्णरुपमा आचारसंहिता परिपालना गर्नुपर्ने बताएको छ । आयोगले निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ । सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रूपमा मतदातासमक्ष मत माग्न पाउनेछन् ।

आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ । राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता उल्लङ्घन भएको बारे पत्र काटेर स्पष्टीकरण सोध्ने, कानुनी कारबाहीका लागि अघि सर्नुपर्ने अवस्था नआओस् भन्ने स्पष्ट पारेको छ ।

आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उल्लंघनकर्तालाई आयोगले स्पष्टीकरण सोध्ने र उल्लंघनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्ड जरिवाना तथा उम्मेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्था छ ।

निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवं सङ्गठित रूपमा निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले स्पष्ट पारेको छ।

  • ४ फाल्गुन २०८२, सोमबार ०७:२६ प्रकाशित