राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने भएका छन् । फागुन २० मा कार्यकाल सकिएर बिदा हुन लागेका सांसदहरू सोमबारबाट बिदाइ सम्बोधन गर्न लागेका हुन् ।

राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेबाट सुरु भएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएकाले राष्ट्रियसभाको अधिवेशन अन्त्यको तयारी भइरहेको छ ।

यसैक्रममा सोमबार बैठक बस्दैछ । सोही बैठकमा बिदाइ हुनलागेका सांसदले संसद्मा अनुभुति राख्ने कार्यसूची तय भएको छ । सोमबारको बैठकमा अनुभुति राख्नेक्रम नसकिए यही माघ २८ गते बस्ने बैठकमा समेत निरन्तरता पाउनेछ । अर्को बैठक आगामी फागुन १ गतेका लागि राखिएको छ ।

संसद् सचिवालयका अधिकारीहरूका अनुसार सरकारले तय भएको भन्दा थप बैठक नराख्ने गरी व्यवस्थापन गर्न सरकारले सन्देश पठाएको छ । त्यसअनुसार संसद सचिवालयले कार्यसूची तय गरेको हो ।

यसपटक कार्यकाल सकिएर यसपटक १९ जना बिदा हुन लागेका छन् । त्यसमध्ये १८ जना निर्वाचित भएका हुन् भने एक जना मनोनीत सांसद हुन् । मनोनीत सांसद वामदेव गौतमले राजीनामा दिइसकेका छन् ।

यस्तै सांसदद्वय नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार भएका छन् । बाँकी १६ जना सांसद बैठकमा आफ्ना अनुभूति राख्नेछन् ।

  • २५ माघ २०८२, आईतवार १३:५० प्रकाशित