काठमाडौं ।
निर्वाचन आयोगले निर्वाचनसम्बन्धी गलत सूचना प्रवाह गर्ने १८१ वटा सूचना नेपाल प्रहरीको साइबर ब्यूरोमा कारबाहीका लागि पठाएको छ ।
निर्वाचन आयोगले शुक्रबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले यसबारे जानकारी दिएका हुन् ।
‘आचारसंहिता विपरीतका १८१ वटा सूचना विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाइएको छ’, प्रवक्ता भट्टराईले भने, ‘सात वटा गलत सूचना दूरसञ्चार प्राधिकरण ऐन, अनुसार कारबाहीका लागि प्राधिकरण पठाइएको छ ।’
त्यस्तै वेभसाइड नै खोलेर आचारसंहिता विपरीत काम गरेकाले ४० वटालाई प्रेस काउन्सिलमा पठाइएको पनि आयोगले जनाएको छ ।
त्यसैगरी आयोगले ४७ वटा गलत सूचना केन्द्रीय आचारसंहिता अनुगमन समितिमा कारबाहीका लागि पठाएको जनाएको छ । आयोगले आचारसंहिता विपरीतका कामकारबाही घट्दै गएपनि अपेक्षा अनुसार घटाउन नसकिएको जनाएको छ ।














