टाईगर कप भलिबल : आर्मीलाई हराउँदै पर्वत भलिबल संघ तेस्रो

केन्द्रभाग मिडिया

पोखरा ।

छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघ तेस्रो बनेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शनिबार तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३(० को सोझो सेटमा पराजित गर्दै पर्वत भलिबल तेस्रो भएको हो ।

पर्वत भलिबलले पहिलो सेट २५–१९, दोस्रो सेट २९–२७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो बनेसँगै पर्वत भलिबलले २ लाख ६ हजार ६६६ रुपैयाँ पाएको छ । अब उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्दै छन् । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।

च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ पाउनेछन् । यसअघि शुक्रबार भएको महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लबलाई ३(० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोट्स क्लबले उपाधि जितेको थियो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा ९ माघदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी थिए ।

  • १७ माघ २०८२, शनिबार १७:४१ प्रकाशित