बालेन शाहको घरमा चोरी, धाराको टुटी समेत छोडेनन् !

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको राजधानी स्थित मण्डिखाटारमा रहेको घरमा चोरी भएको छ । काठमाडौंको मेयरबाट राजिनामा दिएर संसदीय निर्वाचनमा होमिएका बालेन र उनकी पत्नी बाहिर रहेको समयमा घरमा चोरी भएको हो ।

शुक्रबार साँझ बालेनको मामा ससुराका छोराले घर पुग्दा चोरी भएको थाहा पाएका थिए। उनले नै घरमा पुगेर नियमित रूपमा घरमा बत्ती बाल्ने, निभाउने र बिरुवामा पानी हाल्न जाने जस्ता काम गर्दै आएको बताइएको छ । हिजो साँझ घर पुग्दा मूल ढोका फोडिएको र सामानहरू तितरबितर भएको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २./३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरेर लगेका छन् । अरु सामान पनि चोरी भएको(नभएको भन्नेबारे थप खुलाइएको छैन ।

घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले घटनाको पुष्टि गर्दै एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली बनाएर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेका थिए । सिसीटिभी फुटेज र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा यो काम पेसेवर चोरहरूको समूहले गरेको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ । घटना गत १४ माघदेखि हिजो साँझको बीचमा भएको हुनसक्ने प्रहरीले बताएको छ।

 

  • १७ माघ २०८२, शनिबार ११:४६ प्रकाशित