पोखरा ।
२० औँ आहा रारा गोल्डकपको तयारी सकिएको छ ।
माघ ६ गते अर्थात पर्सी बिहीबारबाट सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक सहारा क्लबले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ।
कोरोना संक्रमण तीव्र भएपनि पूर्वनिर्धारित प्रतियोगीता भएकोले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि र जिल्ला प्रशासनको आदेशलाई ध्यानमा राख्दै सञ्चालन गरिन आयोजकले जनाएको छ।
हिजो साँझ जिल्ला प्रशासनले दिएको आदेश अनुसार आहा रारा गोल्डकपमा स्टेडियमको क्षमताको तुलनामा एक तिहाई मात्र दर्शक राखेर प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १० टीमको सहभागिता रहनेछ ।संकटा क्लब, नेपाल पुलिस फुटबल क्लब,मछिन्द्र क्लब,हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब,नेपाल ए. पि. एफ.क्लब, बिवाईएससी मिनेसोटा यू.एस.ए, मनाङ्ग मर्याङ्गदी क्लब र आयोजक सहारा क्लब पोखरा प्रतियोगितामा सहभागी हुनेछन् । उद्घाटन खेलमा आयोजक सहारा र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।
विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताबाट आम्दानी रकम क्लबले सञ्चालन गर्दै आएको एकेडेमीमा खर्च गर्नेछ । एकेडेमीमा विभिन्न १४ जिल्लाका २४ जना आश्रित छन् ।
प्रतियोगिताबाट अनुमानित १ करोड ३६ लाख १ हजार रुपैया आम्दानी हुने र १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।