स्थानीय तहको निर्वाचन वैशाखमै गर्न गठबन्धन तैयार

केन्द्रभाग मिडिया

काठमाडौं।

सत्ता गठबन्धनको उच्च स्तरीय राजनितिक समन्वय समितिको बैठक सकिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएको छ।

निर्वाचन गर्न आलटाल गरेको भन्दै आलोचना खेपिरहेको गठबन्धनले समयमै चुनाव गर्न आफूहरु तयार रहेको बताएका हुन् । चुनावको मिति भने बिहिबार बस्ने बैठकले तोक्ने बताइएको छ।

बैठकमा स्थानीय तहको निर्वाचन, आसन्न राष्ट्रिय सभाको निर्वाचन लगायत सरकार सञ्चालनका विषयमा छलफल भएको थियो। निर्वाचन आयोगले वैशाखमा नै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो।

स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ। निर्वाचनको तयारीका लागि १ सय २० दिन आवश्यक पर्ने भएकोले सरकारलाई निर्वाचनको मिति तोक्न निर्वाचन आयोग र एमालेले दबाब दिंदै आएको छ।

तर सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ। वैशाखमा निर्वाचनको मिति नतोकेर सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको एमालेको आरोप छ।

आयोगले माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने प्रस्ताव गरेको छ।

पाँच दलीय‍ गठबन्धनको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा कृष्ण सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेको समिति गठन गरेको थियो। मन्त्रिपरिषद्‍बाट सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्यका रुपमा रहेका छन्।

  • ४ माघ २०७८, मंगलवार १२:४७ प्रकाशित