पोखरा ।
पोखरा महानगरपालिकाकोे दीर्घकालिन रुपमा फोहोरको व्यवस्थापन गर्ने ‘फोहोर प्रसोधन केन्द्र’ निर्माणको योजना कार्यानवयनमा कठिनाई देखिएको छ । पोखरा ३३ पुँडिटारमा प्रस्तावित फोहोर प्रसोधन केन्द्र निर्माणको विरोधमा स्थानीयवासीले शुक्रबार वडा नम्बर ३३ को कार्यालय अगाडि प्रदर्शन गरेका छन् भने, त्यही बेला वडाध्यक्ष रामचन्द्र अधिकारीले हातमा खुकुरी लिएर तर्साएको दाबी गरिएको छ ।
स्थानीयले वडाध्यक्षको सवारीसाधनमा तोडफोड गरेका थिए भने आगजनीको प्रयाससमेत भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । वडाध्यक्ष बाकेर हिँड्न लागेको गाडीमा स्थानीयले ढुंगामुढासमेत गरेका थिए । वडाध्यक्ष अधिकारी अहिले कास्की प्रहरीको नियन्त्रणमा छन् ।
वडाध्यक्षले खुकुरी नचाएको विषयमा नभई उनको सुरक्षाका लागि नियन्त्रणमा लिएको कास्की प्रहरीले दाबी गरेको छ । कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले वडाध्यक्षलाई सुरक्षाका लागि नियन्त्रणमा राखिएको बताए । ‘उहाँ (वडाध्यक्ष अधिकारी) ले खुकुरी नचाउनु भएको विषयलाई लिएर नियन्त्रणमा लिइएको होइन । सुरक्षाका लागि नियन्त्रणमा लिएका हौं । वडाध्यक्षले आफूले खुकुरी नबोकेको र आफूलाई प्रहार गर्ने प्रयास हुँदा रोकेको दाबी गर्नुभएको छ । के हो भन्ने विस्तृत अनुसन्धान पछि नै खुल्ने छ’ उनले भने ।















