आज राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (बुधबार) देशभर उम्मेदवारहरुको मनोनयन हुँदैछ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको जनाएको छ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि आगामी ११ माघमा निर्वाचन हुन लागेको हो ।

आयोगले यसअघि यही १९ पुसमा मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मंगलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ ।

आयोगका अनुसार यही २४ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, २७ पुसमा उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

साथै यही २८ पुसमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी ११ माघको बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी समय तोकिएको छ ।
आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।

  • २३ पुष २०८२, बुधबार ०८:३३ प्रकाशित