स्याङ्जा ।
स्याङ्जा सदरमुकामस्थित पुतलीबजार नगरपालिकाले प्रदेश अस्पताल स्याङ्जा (जिल्ला अस्पताल) जोड्ने सडकको स्तरोन्नती गरेको छ । सदरमुकाम स्याङ्जा बजारबाट कारागार हुँदै पुतलीखेतस्थित प्रदेश अस्पताल, बाडखोला र लामागेतर्फ जाने सडकको स्तरोन्नती गरेको हो ।
संघीय सरकारको सशर्त अनुदान र नगरपालिकाको आन्तरिक श्रोतबाट सडकको स्तरोन्नती गरिएको छ । नगरका चार वटा सडकहरुको स्तरोन्नती गर्ने योजना अन्र्तगत रारा निर्माण कम्पनीमार्फत एक करोड ४० लाखको लागतमा प्रदेश अस्पताल, बाडखोला र लामागे आउजाउ गर्ने सडकको स्तरोन्नती गरिएको नगरपालिकाले जनाएको छ ।
सडकको स्तरोन्नती अन्र्तगत जिल्ला कारागार कार्यालयको माथिल्लो भागमा टेवा पर्खाल लगाइएको छ भने जिल्ला अदालतको तल्लोभाग ढलान गरिएको छ । व्यवस्थित सडक तयार भएसँगै स्याङ्जा बजारबाट प्रदेश अस्पताल आउजाउ गर्ने सडकको दुरीमै कमि आएको छ । स्याङ्जा बजारबाट बाडखोला हुँदै अस्पताल पुग्नुपर्ने बाध्यता हटेर अब कारागारबाट सिधै अस्पताल र प्रगतीनगरबाट मालेबगर खेलमैदान पुग्न सहजै सकिने भएको छ ।
कारागारको सडक जिर्ण हुँदा ट्याक्सी तथा टेम्पो प्रयोग गरेर घुमाउँरो सडकबाट चर्को भाडा तिरेर पुतलीखेत, अस्पताल र बाडखोला जानुपर्ने बाध्यता थियो । घुमाउँरो सडकबाट अस्पताल जाँदा ट्याक्सीले ५ सय र टेम्पोले तीन सय भाडा लिदै आएकोमा स्तरोन्नती भएसँगै सडकको दुरी घटेको छ भने झण्डै भाडा आधै कम लाग्ने भएको स्थानीय महादेव श्रेष्ठले बताए ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित बजेटबाटै नगरपालिका वडा नं.–१ को कारागार र वडा नं.–१४ को लामागे लगाएतका सडक स्तरोन्नती गरिएको छ । सडक स्तरोन्नती अन्र्तगत बाटो ढलान, नाला निर्माण, टेवा पर्खाल बनाउने, भिरालो भू–भागमा जाली लगाएर सुरक्षित गराउने र लामागे–लाम्पाटा सडकखण्डको छिपेहटियामा कालोपत्रे गरिने भएको नगरपालिकाले जनाएको छ ।
कारागारबाट अस्पताल पुग्ने सडक ढलान गरेसँगै सवारी साधन आउजाउको समस्या हटेको पुतलीबजारका नगरप्रमुख तुलसीराम रेग्मीले बताए । त्यसैगरी प्रगतीनगरबाट कारागारको तल्लो भागबाट मालेबगर खेलमैदान जाने सडकको ढलान फराकिलो हुँदा सडक सुरक्षित र सहज बनेको छ । पछिल्लो समय क्षतिग्रस्त सडकको मर्मत सम्भार गर्ने कार्यलाई नगरपालिकाले प्राथमिकता दिएको काम गरेको रेग्मीले जनाए ।
त्यसैबीच पुतलीबजार नगरपालिकाले बजार क्षेत्रका घुम्ती–चिसापानी सडकखण्डको घुम्ती–द्याङ्गदी, बिरेन्द्रनगर, प्रगतीनगर, बाडखोला–सतौंदरौं भित्रीखण्डको कालिमाटी, गोदगोदे सडकको मर्ममसम्भार गरेको छ । ममर्तसम्भार अन्र्तगत सडकको खाल्टाखुल्टी पुर्ने काम र नाला तथा कल्भर्ट निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।















