सरकार चुनावमा होमिन उत्साहित भएर अघि बढेको छ : मन्त्री खरेल

केन्द्रभाग मिडिया

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको लागि उचित वातावरण बनिसकेको दाबी गरेका छन् ।

जनमत पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उचित वातावरण बनिसकेको जिकिर गरेका हुन् ।सबै राजनीतिक दलहरू निर्वाचनका लागि तयार रहेको र आवश्यक तयारी गरिरहेको पाएको पनि उनले बताए ।

मन्त्री खरेलकाअनुसार जनमत पार्टी पनि निर्वाचनका लागि तयारी अवस्थामा छ । निर्वाचनका लागि सबै राजनीतिक दलहरू लागेको देख्दा सरकार उत्साहित भएको जिकिर गरे ।

‘चुनावको वातावरण तयार गर्न सरकारको तर्फबाट मुख्य राजनीतिक दलहरूको पार्टी कार्यालयमै आएर छलफल गरेका हौं । जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा छ । फागुन २१ मा सरकारले चुनाव गर्दैछ,’ उनले भने, ‘हामी जति राजनीतिक दलहरूको पार्टी कार्यालयमा गएका छौं, उहाँहरूले चुनावको लागि वातावरण बनिसकेको र चुनावको लागि तयार भएको सन्देश पाएका छौं । हामी सबै चुनावमा होमिनुपर्छ भनेर सरकार उत्साहित भएर अघि बढेको छ ।’

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानूनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेलसहित प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल निर्वाचनको वातावरण बनाइदिन आग्रह गर्दै राजनीतिक दलहरूको कार्यालय पुगेर अनुगमन गरिरहेका छन् ।

  • ९ पुष २०८२, बुधबार १५:३५ प्रकाशित