टुर दि पोखराको आठौं संस्करणको तयारी पूरा

केन्द्रभाग मिडिया

पोखरा ।

‘स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल’ नाराका साथ पोखरामा यही ५ पुस मा टुर दि पोखराको आठौं संस्करण हुनेभएको छ । पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर पोखरा महानगरपालिकाको क्लिन सिटी ग्रिन सिटी को अवधारणा टुर दि पोखराको आयोजना गरिएको साइकल सिटी पोखराले बिहीबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गरेर जानकारी दिएको हो । पोखरा महानगरको मुख्य प्रवद्र्धनमा हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक साइकल सिटी पोखराका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले जानकारी दिए ।

टुर दि पोखरा साइकल ऱ्यालीको माध्यमबाट पोखरा र वरपरका पर्यटकीय गन्तव्यहरु पहिचान गरी आमन्त्रित स्वदेशी एवं विदेशी साइकल यात्रीहरुलाइ भ्रमण गराई हरित क्रान्तिको सुरुवात गर्ने उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले बताए । यस वर्षको टुर दि पोखरामा ४ वर्ष उमेर समूह देखि ८६ वर्ष सम्मका देशभर ३२ जिल्लाका तथा छिमेकी मित्र राष्ट्र भारत लगायत अन्य देशका करिव ८६० जना साइक्लिस्ट सहभागी हुने पक्का भइसकेको सो अबसरमा जानकारी दिइएको छ । साथै स्थनीय स्तरमा रजिष्ट्रेशन विना नै धेरै साइक्लिस्टहरुको सहभागिता रहने अपेक्षासहित सहित करिब एक हजार भन्दा बढी साइक्लिस्टहरुको सहभागी हुने जनाइएको छ । जमघटमा विश्व साइकल यात्रीहरु, सामाजिक अभियान्ताहरु र फरक क्षमता भएका साइक्लिस्टहरुको उल्लेख्य सहभागिता रहने पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ । साइकल यात्राको दुरी ५१ किलोमिटरको हुने छ ।

यात्रा सभागृहबाट सिर्जना चोक हुँदै सिद्धार्थ चोक वगर लामाचौर अकलादेवि मन्दिर पुरनचौर गण्डकी ट्राउट मा पुगेर दिवा दिवा खाना हुनेछ । त्यसपछि फर्केर अकलादेवी, महेन्द्र गुफा, बगर, महेन्द्र पुलबाट कान्तिपुर गार्डेन बाटिका (घारिपाटन, तिनकुने चोक) मा आएर समापन हुने साइकल सिटी पोखराका महासचिव रामचन्द्र भट्टले जानकारी दिए ।

घरपझोन गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङमा २३ जिल्लाका ३२० जना सहभागी भएको जानकारी दिँदै पोखरामा झन कार्यक्रम सभ्य हुने अपेक्षा प्रकट गरे । यो प्रतियोगिता पोखरा चिनाउनका लागि महत्वपूर्ण हुने बताए । साइकल पर्यटन पर्यटक र वातावरणका लागि महत्वपूर्ण रहेको धारणा राखे ।

साइकल सिटीका सल्लाहकार एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले घरपझोङकै जस्तो पोखरामा पनि सफल हुने अपेक्षा प्रकट गरे । यो कार्यक्रम दुई दिनको रहेको भन्दै आगामी दिनमा अझ सशक्त ढंगले अगाडि बढ्ने उल्लेख गरे ।
व्यवसायी एवं साइकल सिटीका सल्लाहकार ईश्वर कर्माचार्यले पोखरा साइकल सिटीको रुपमा विकास गर्ने उद्देश्य राखिएको बताए ।

साइकल सिटी पोखराका निरज थापाले माउन्टेन साइकल चढ्ने मात्र नभएर अन्यलाई पनि अपनत्व दिलाउन सके अझ सशक्त हुने धारणा राखे ।

  • ३ पुष २०८२, बिहीबार १७:५२ प्रकाशित