श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ पक्राउ परेका छन् । कुमार, विश्वक्रान्ती, देवराज उपनामले चिनिने राजकुमार तामाङलाई मंगलबार काठमाडौंको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । तामाङलाई विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ गरिएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले बताए ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा दर्ता भएको थियो । त्यही मुद्दामा उनलाई मंगलबार बुढानिलकण्ठ नगरपालिका-११ कपनबाट पक्राउ गरिएको हो । थप कारबाहीका लागि उनलाई पाँचथर पठाइएको एसएसपी श्रेष्ठले जानकारी दिए ।

धनकुटाको पार्खिवास नगरपालिका-९ का ५० वर्षीय तामाङ हाल काठमाडौँको बुढानिलकण्ठ-११ कपनमा बस्दै आएका थिए । उनी यसअघि जेल सजाय भोगिसकेका व्यक्ति हुन् ।

  • १ पुष २०८२, मंगलवार १९:२९ प्रकाशित