काठमाडौं ।
शिर्ष नेता कार्यकर्ता लगायतका कर्मचारीमा पछिल्लो समय कोरोना संक्रमण तीव्र देखिएको छ । भेला, सभासम्मेलन, अधिवेशन जस्ता राजनितिक दलका गतिविधिले संक्रमण तीव्र बनिरहेको छ ।
यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन जना सचिवसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
दुइ दिन लगाएर कार्यालयका कार्यरत २ सय जना कर्मचारीको पीसीआर परिक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिव शिशिरकुमार ढुंगाना, सीसीएमसीका प्रमुखसमेत रहेका प्रादेशिक समन्वय र सामाजिक विकास हेर्ने सचिव रामप्रसाद थपलिया र भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएर पदस्थापन हुन नसकेका सचिव कृष्णबहादुर रावतसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
कार्यालयमा कार्यरत सहसचिव मनोज आचार्य र एक जना अर्का सचिव गरेर दुइ जना सहसचिवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।