काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको हो ।
लिग चरणको सुरुवातमा कमजोर देखिएको लुम्बिनीले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जित्न सफल भयो । लिग चरणको आफ्नो चौथो खेलसम्म तीन हार खेपेको अवस्थामा रहेको लुम्बिनी सुरुवातमा दबाबमा थियो ।
तर, लिग चरणका पछिल्ला तीनसहित लगातर ६ खेलमा जित निकाल्दै लुम्बिनीले उपाधि जितेको हो । सुदूरपश्चिमले भने दोस्रो पटक पनि उपविजेतामै चित्त बुझाएको छ । पहिलो संस्करणमा पनि यो टोली उपविजेता बनेको थियो ।
टस हारेर ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ ओभर ६ बलमा ४ विकेट गुमाउँदै ८६ रन बनाउँदै सहज जित हार पारेको हो ।
लुम्बिनीको जितका लागि ओपनर दिनेश अधिकारीले बिस्फोटक ब्याटिङ गरे । उनले १३ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४२ रन जोडे । कप्तान रोहितले दोस्रो सर्वाधिक १६ रन जोडे । ओपनर डी आर्सी सर्टले १४ रन जोडे । सन्दीप जोरा शून्यमै आउट भए । दिलिप नाथले अविजीत १ रन जोडे ।
ब्याटिङमा खराब प्रदर्शन गरेको सुदूरपश्चिम बलिङमा पनि कमजोर देखियो । कप्तान दीपेन्द्रले २ ओभर बलिङ गर्दा १ विकेट लिदै २९ रन खर्चिए । स्कट कुगेलेइजनले २ ओभर गर्दा २२ रन खर्चिए भने विकेटविहीन रहे ।
हर्मित धामीले सर्वाधिक २ विकेट लिए । दीपेन्द्र र अभिनाश बोहोराले समान १-१ विकेट लिए ।















