पोखरा ।
नेपाल प्रिमियर लिग (एनपीएल) को आज उपाधि भिडन्त हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्यबीच उपाधिका लागि अहिले केही बेरमा प्रतिस्पर्धा हुँदैछ । खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेको छ ।
खेलका लागि लुम्बिनीले जेजे स्मितको स्थानमा मोबिन सुभसिंहलाई खेलाएको छ । सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ। मिलन बोहराको स्थानमा दिपक बोहरा तथा मुख्यर अहमदको स्थानमा पुनित मेहरा आएका छन् ।
गत सिजन अंक तालिकाको पुछारमा रहेको लुम्बिनी र उपविजेतामा सीमित बनेको सुदूरपश्चिम उपाधिका लागि भिड्दा एनपिएलले नया च्याम्पियन पाउँदैछ ।
यससँगै एक खेलाडीले दोस्रो पटक एनपिएलको उपाधि उचाल्ने इतिहास बनाउनेछन् । गत सिजन जनकपुर बोल्ट्सले उपाधि जित्दा सो टोलीमा रहेका दुई खेलाडी आज एकअर्काबीच प्रतिस्पर्धा गर्दैछन् ।















