करकापपूर्ण सहमति हुँदैन, स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ : अध्यक्ष ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताएका छन् । ओलीले करकापपूर्ण सहमतिको प्रयास नहुने बताएका छन्।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भरसक सहमतिबाटै नेतृत्व चयन गरिने जानकारी दिए। यद्यपि, सहमति हुन नसकेको खण्डमा करकाप नगरी स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व छानिने उनले स्पष्ट पारेका छन्।

उनले प्रतिनिधिहरूले विश्वास गरेमा आफ्नो पार्टी अध्यक्ष पद निरन्तर रहने स्पष्ट गर्दै भने, ‘म थपिनेवालमा पर्दिन, निरन्तरतासम्म हुनसक्छ, प्रतिनिधिले पत्याएनन् भने मेरो पनि हट्ने सम्भावना हुन सक्छ। लोकतान्त्रिक पार्टीमा आग्रह, जिद्दी र हठले हुँदैन, त्यस कारण सहमतिमा जाँदा मैले छाड्ने सहमति भयो भने पनि म हट्ने स्थिति बन्न सक्छ, अथवा प्रतिनिधिले साथ नदिए, भोट नदिए हट्ने सम्भावना हुन सक्छ।’

एमाले विरुद्ध करौँती जस्तो नीति बनाइएको भन्दै उनले सहमति हुँदा पनि लोकतान्त्रिक अभ्यासलाई रोकेर सहमति गराए भन्ने आरोप लाग्ने गरेको र मतदानमा जाँदा पनि भाँडभैलो भयो भन्ने आरोप लाग्ने गरेको गुनासो गरे। यस पटक दबाब दिएर मिलाउने योजना नभएको बताउँदै उनले स्वच्छ प्रतिस्पर्धा वा बिना करकाप नेतृत्व छानिने विश्वास व्यक्त गरे।

केपी ओलीले छाडे सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने ओलीले बताए। ‘म दबाबमा काम गर्ने मान्छे होइन, उहाँले बाहिर बाहिर उम्मेदवारी घोषणा गरेर हिँड्नु भएको छ, मसँग कुरा गर्नु पऱ्यो नि, मसँग त कुरा गर्नुभएको छैन,’ ओलीले भने।

  • २५ मंसिर २०८२, बिहीबार १४:५२ प्रकाशित