काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको बताएका छन्।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा सञ्चारिका समूहले बुधवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले सुशासन कायम हुनुपर्ने जनआन्दोलनको प्रमुख मुद्दा भएको बताएका हुन्। त्यसैको परिणाम स्वरूप पछिल्लो दुई महिनामा २५ भन्दा बढी ठुला भ्रष्टाचार प्रकरणमा मुद्दा दर्ता भइसकेको उनले जानकारी दिए।
मन्त्री खरेलले सतर्कता केन्द्र, अनुसन्धान ब्युरो, अख्तियार लगायतका राज्यका निकायहरूमाथि सरकारले कुनै हस्तक्षेप नगरेको र ती निकायहरूले स्वतःस्फूर्त रूपमा प्रभावकारी ढङ्गले काम गरेको जिकिर गरे। उनले सरकारलाई निर्वाचनको जिम्मेवारी समेत तोकिएकोले समयमै निर्वाचन गर्नका लागि सरकारका तर्फबाट सबै तयारी गरिसकेको जानकारी पनि दिए।
यसै क्रममा मन्त्री खरेलले कलम चलाउने पत्रकारहरूमा देशको नेतृत्व गर्ने अवसर सिर्जना भएकाले आगामी निर्वाचनमा महिला पत्रकारहरूलाई राजनीतिमा आएर देश चलाउने आँट गर्न सुझाव समेत दिए।















