एक व्यक्ति २ पटक भन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले कुनैपनि पार्टीको अध्यक्ष एक व्यक्ति २ पटक भन्दा बढी हुन नपाउने कानुनमै व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले दलभित्रको आन्तरिक लोकतन्त्रका लागि पनि यो व्यवस्था अनिवार्य भएको बताए ।

सोमबार ईश्वर पोखरेल समूहले आयोजना गरेको अन्तरक्रियामा बोल्दै पाण्डेले देशको कानुन र पार्टीभित्रको विधानमा पनि लोकतान्त्रिकरणको विषय महाधिवेशनमा उठाउने बताए ।

नेता पाण्डेले नेकपा एमालेभित्र पछिल्लो समय केपी ओली नेतृत्वमा आइसकेपछि लोकतान्त्रिक प्रक्रियामा गम्भीर विचलन देखापरेको भन्दै जवजको स्पिरिटअनुसार ओली चल्न नसक्दा पार्टी संकटमा परेको बताए । ‘उहाँ आफै अगुवाई गरेर पार्टी लोकतान्त्रिकरण गर्ने भनेर ७० बर्षे उमेर हद लगायतको व्यवस्था गरियो’, पाण्डेले भने, ‘तर उहाँले लोकतान्त्रिकरणको सवै कुरा मिच्दै जानुभयो ।’

पाण्डेले लोकतान्त्रिक इतिहास बोकेको एमाले पार्टीलाई व्यक्तिवादी पार्टीमा ओलीले सीमित गरेको आरोप समेत लगाए ।

‘केही व्यक्तिको निर्णयमा चल्ने पार्टीमा रुपान्तरण गर्ने जुन स्थिति बन्दैछ जसले गर्दा एमाले जनताको बिचमा खुम्चने, साँघुरिने र आइसोलेसनमा जाने अवस्था देखा पर्दैछ’, उनले भने, ‘पार्टी नवपुस्ताका विचमा विस्तार हुनुपर्नेमा उल्टो भइरहेको छ । चुनाव नहुने पार्टीमा किन आउने भनेर नवपुस्ताले भनेका छन् ।’

नेता पाण्डेले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका युवाहरुले पनि पुराना पार्टीहरुमा लोकतान्त्रिकरणको मुद्दा अघिसारेको कुरालाई नजरअन्दाज गर्न नमिल्ने बताए ।

एउटा व्यक्ति एउटै पार्टीको दुई पटक भन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था कानुनमै ल्याउनुपर्नेमा पाण्डेको जोड छ ।

  • २२ मंसिर २०८२, सोमबार १४:३५ प्रकाशित