पोखरा ।
नेपाली कांग्रेसले संसद पुनस्थापनाका लागि सर्वोच्चमा रिट दायर गरेपनी उसले औपचारिक रुपमै आगामी २१ फागुनका लागि तय भएको निर्वाचनका लागि आफ्नो तयारीलाई पार्टीकै निर्णय अनुरुप अगाडि बढाएको छ । कांग्रेसले केन्द्रको परिपत्र अनुरुप निर्वाचन क्षेत्रहरुमा उमेद्वार आकांक्षीहरुको सिफारिस सुरु भइसकेको छ ।
कतिपय जिल्लाका प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रहरुमा उम्मेद्वार सिफारिस भइसकेका छन् भने, कतिपयमा प्रक्रिया अगाडि बढेको छ । निर्वाचनमा उम्मेद्वार बन्ने आकांक्षीको लर्को लागेको छ । कास्की क्षेत्र नम्बर १ मात्र प्रत्यक्ष तर्फ उम्मेद्वार बन्न १२ जनाले नाम टिपाएका छन् । समानुपातिक तर्फ ८ जनाले आकांक्षा प्रकट गरेका छन् । केन्द्रको परिपत्रअनुसार उम्मेदवार छनोट प्रक्रिया सुरु गर्दा कांग्रेस सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्य गुरु बरालसहित कास्की क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ १२ जनाले दाबी पेस गरेका हुन्।
कांग्रेस कास्कीका सहसचिव एंव प्रवक्ता नवीन सिग्देलका अनुसार सहमहामन्त्री परियार र केन्द्रीय सदस्य बरालसहित प्रत्यक्षतर्फ कृष्णबहादुर केसी, तिलक रानाभाट, सुदीपमोहन भट्टराई, भानु ढकाल, प्रेम सुवेदी, पुष्पमणि भण्डारी, अप्सरा श्रेष्ठ, बुद्धिमान गुरुङ, गिरिराज गौतम र सोभिता कार्कीको नाम दर्ता गराएका छन् । आकांक्षीमध्ये केही पुराना र अनुभवी नेता छन् भने केहीले पुस्तान्तरणको दाबीसहित नेतृत्वमा आउन खोजेका छन् ।
समानुपातिकतर्फ ८ जनाको आवेदन परेको छ । जसमा संज्ञा पोखरेल, कोपिला रानाभाट, दुर्गा लामिछाने, निशा मल्ल ठकुरी, इन्द्रमाया बानियाँ, लालकृष्ण शर्मा भट्टराई, लोककुमारी गुरुङ र खलिल मियाँ छन् । समानुपातिक सूचीमा महिला, जनजाति, दलित तथा अल्पसंख्यक समुदायको उल्लेख्य उपस्थितिले समावेशी प्रतिनिधित्व बलियो हुने अपेक्षा गरिएको छ ।
कांग्रेस केन्द्रले उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत, नभए बढीमा ३ जनाको नाम सिफारिस गर्न परिपत्र गरेको छ । तर, आकांक्षीको संख्या दर्जन पुगेपछि व्यवस्थापनमा चुनौती थपिएको छ । सिग्देलका अनुसार उम्मेदवार सिफारिस र आन्तरिक व्यवस्थापनका लागि कास्की क्षेत्र नम्बर १ ले आज (सोमबार) महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र सबै आकांक्षीलाई छलफलका लागि बोलाएको छ । छलफल पछि आकांक्षीको संख्या घट्ने अपेक्षा गरिएको छ ।
यस्तै, कास्की क्षेत्र नम्बर २ र ३ ले पनि आज नै प्रत्यक्ष र समानुपातिक तर्फका आकांक्षी तथा प्रतिनिधिबीच भेला आयोजना गरेको जनाएका छन् ।















