एमआरआर पोखराको रक्तदानमा ७५ पिन्ट रगत संकलन

केन्द्रभाग मिडिया

पोखरा ।

फेसबुक ग्रुप एमआरआर पोखराको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको छ । कोभिड महामारीमा रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको एमआरआरले जनाएको छ।

‘कोभिडका समयमा हुन सक्ने सम्भावित रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले हामीले रक्तदान कार्यक्रमको आयोजना गरेका हौं’, उनले भने,‘एमआरआर अन्य सामाजिक क्रियाकलापमा समेत सक्रिय छ ।’एमआरआरका सक्रिय सदस्य सुदीप पौडेलले भने

रक्तदान कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख अमृत बहादुर बस्नेतले रगत सबै भन्दा बढी दुर्घटनामा परेकाहरुलाई आवश्यक पर्ने बताए ।

एमआरआरका युवा साथीहरुले आयोजना गरेको रक्तदान कार्यक्रम आफैमा सकरात्मक भावना स्वरुप गरिएको कार्यक्रम भएको उल्लेख उनले गरे । संकलन गरिएका रगतको सदुपयोग समेत सही तरिकाले हुन आवश्यक रहेको भनाई उनको छ ।

‘विश्वका आँकडा अनुसार वर्षेनी १३ देखि १४ लाख सम्म मानिसको मृत्यु सडक दुर्घटना बाट भएको छ । उनीहरुलाई रगत समयमा नै उपलब्ध गराउन नसक्दा यस्तो समस्या भएको देखिन्छ । यस्ता विषयमा हामीले ध्यान पुर्याउन आवश्यक छ ।’, उनले भने ।

बस्नेतले अंगभंग भएकाहरुलाई रगतको आवश्यकता बढी पर्ने भएकाले एमआरआर जस्ता सामाजिक संस्थाले गरेका सामाजिक कार्यक्रमहरुमा ट्राफिक प्रहरी प्रशासनको समेत सहयोग रहने विश्वास व्यक्त गरे ।

एमआरआर विशुद्ध सामाजिक सेवा प्रवाह गर्ने उद्देश्य स्वरुप खोलिएको संस्था भएको सक्रिय सदस्य नरेश भट्टराइले बताए । उनका अनुसार एमआरआरमा नेपालसँगै विदेशमा रहेका एक लाख युवाहरु आबद्ध छन् ।

‘एमआरआर युवाको घर हो, जहाँ कुनै स्वार्थ छैन । समाजमा भएका अप्ठेराहरुमा सक्रिय पूर्वक भूमिका निर्वाह गर्दै आएका छौं ।’, भट्टराईले भने । एमआरआर ग्रुप संचालनमा आएको १० वर्ष पुगेको जानकारी उनले गराएका छन् ।

सुजन ढकालको सभापतित्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । उनले रक्तदान कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण रक्तदाता एंव संघसंस्थालाई धन्यवाद दिएका छन् । आगामी समयमा पनि एमआरआरले सामाजिक सेवामा सक्रियता देखाउने प्रतिबद्धता उनको छ ।

उक्त कार्यक्रमको संयोजन रिदम बास्तोकोटी र युनीक क्षेत्रीले गरेका थिए भने कार्यक्रमलाई सफल पार्न पोखराका विभिन्न प्रतिष्ठित संघसंस्थाहरुले सहयोग गरेका थिए ।

  • २ माघ २०७८, आईतवार १५:२५ प्रकाशित