समानुपातिक उम्मेदवार सूचीमा कम्तीमा ५० प्रतिशत महिला अनिवार्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तिमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने भएको छ ।

दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्दा कूल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा २८ मा व्यवस्था छ ।

संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरे पनि निर्वाचन कानुनले संविधानको सो मर्म आत्मसात् नगरेको भन्दै कानुन संशोधनको माग उठ्दै आएको थियो । गत कात्तिक अन्तिम साता पहिलो संविधान सभाका चार सभासदसहितको टोली ९रेणु चन्द, बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायत०ले निर्वाचन आयोगका पदाधिकारीहरुलाई भेटेर कम्तिमा ५० प्रतिशत महिला सुनिश्चित गराउन माग गरेका थिए ।

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम यही मंसिर २१ गतेदेखि सुरु हुँदैछ । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरुले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्नेछन् । प्राप्त निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गर्ने तालिका छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा २८ मा उम्मेदवारको बन्दसूची तयार गर्ने सम्बन्धी व्यवस्था छ । जसअनुसार समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा भाग लिन चाहने दलले आफ्नो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवारको बन्दसूची तयार गर्नु पर्नेछ । ‘दलले उम्मेदवारको बन्दसूची तयार गर्दा कूल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने छ’ प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा २८ को उपदफा ३ मा उल्लेख छ ।

  • १८ मंसिर २०८२, बिहीबार १२:५० प्रकाशित