एनपीएलमा पोखरा एभेन्जर्सको दोस्रो जित, कर्णाली याक्स बाहिरियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्सले प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । एडम रोसिङटनको शतक मद्दतमा पोखराले २०२ रनको उच्च लक्ष्य कर्णालीलाई दिएको थियो । कर्णाली याक्सले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र जोड्न सक्यो ।

पाँच खेलमा दोस्रो जित हात पारेको पोखराले ४ अंक जोडेको छ । यससंगै पोखराले प्लेअफ पुग्ने सम्भावना कायम राखेको हो । पोखराले यसअघि जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।  उता ६ खेल खेल्दा पाँचौ हार व्यहोरेको कर्णाली याक्स भने प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ । कर्णाली अब आइतबार हुने लिगकै अन्तिम खेलमा जकपुर बोल्ट्ससँग खेल्नेछ ।

कर्णालीका लागि ओपनर मार्क वाटले सर्वाधिक ५९ रन बनाए । वाट बाहेक अन्य ब्याटरलले उल्लेख्य योगदान गर्न सकेनन् । नजिबुल्लाह जद्रान २४ रन बनाए । पवन सर्राफले १९ र प्रियांक पन्चलले १६ रन बनाए ।

मार्क वाट र प्रियांक पान्चलले पहिलो विकेटका लागि उत्कृष्ट सुरुवात गर्दै ३१ रनको साझेदारी गरेका थिए । तर पान्चल ११ बलमा १६ रन बनाएर चौथो ओभरको बलमा बलमा आउट भए । त्यसपछि आएका जयकिशन कोल्सावालाले १० बल खेल्दै जम्मा ६ रन बनाएर आउट भए ।

वाटले एक छेउबाट आक्रमक ब्याटिङ गर्दै कर्णालीको इनिङ्स अगाडि बढाउँदा कर्णालीको समभावना बलियो नै थियो । उनले आक्रमक ब्याटिङमा २२ बलमा अर्धशतक प्रहार गरेका थिए । तर दशौँ ओभरको पाँचौ बलमा पोखराका पार्ट टाइम बलर किरण ठगुन्नाले तृतराज दासबाट वाटलाई क्याचआउट गराए । त्यसपछि पोखराले खेलमा कमब्याक गरेको थियो ।

त्यसपछि कर्णालीका पवन सर्राफ  १४ बलमा १९ रन बनाएर आउट भए । सराफलाई ऋषी धवनको बलमा पोखराका कप्तान कुशल भुर्तेलले क्याचआउट गरे ।

गुल्सन झा ७ बलमा ९ रन बनाएर आउट भए ।  २४ रन बनाएका जद्रान नजिबुल्लाहलाई ऋषी धवनले किरण ठगुन्नाबाट क्याचआउट गराए ।

१८औं ओभरमा दीपेन्द्र रावत र सोमपाल कामी आउट भए । ऋषी धवनले रावतलाई रनआउट गर्दा सोमपाललाई धनन्जय लक्षनबाट क्याचआउट गराए । युनिश सिंह र नन्दन यादव १९औं ओभरमा आउट भएपछि कर्णाली अलआउट भएको हो ।

बलिङमा पोखराका लागि धनन्जय लक्ष्ले ४ ओभरमा ३१ रन खर्चेर तथा ऋषी धवनले ४ ओभरमा ३७ रन खर्चेर ३-३ विकेट लिए । यस्तै सन्दीप खत्री क्षेत्री, किरण ठगुन्ना, कप्तान कुशल भुर्तेल १-१ विकेट लिए ।

त्यसअघि एडम रोसिङटनले सानदार शतक बनाएपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०१ रन बनाएको हो ।

एनपीएल दोस्रो सिजन २०० रन बनेको यो दोस्रो पटक हो । यसअघि विराटनगर किंगुसले पोखरा एभेन्जर्स विरुद्ध २२० रन बनाएको थियो ।

ओपनर रोसिङटनले लगातार दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ५८ बलमा अविजित १०८ रन बनाए । यस क्रममा उनले ११ चौका र ७ छक्का प्रहार गरे ।

दिनेश खरेललाई ड्रप गरेपनि कप्तान कुशल भुर्तेल आफैँ रोसिङटनसँग ओपनिङ गर्न आएका थिए । पहिलो विकेटका लागि रोसिङटन र भुर्तेलले ३४ रनको साझेदारी गरे । भुर्तेलले १७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरी १८ रन बनाए । त्यसपछि रोसिङटनले अर्का इंग्लिस ब्याटिङ ज्यासन रोएसँग शतकीय साझेदारी गरे ।

यो जोडीले दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गरे । एनपीएलको दोस्रो संस्करणमा यो दोस्रो ठूलो साझेदारी हो भने समग्रमा पाँचौ शतकीय साझेदारी हो । यसअघि विराटनगरका लोकेश बम र मार्टिन गप्टिलले पोखरा एभेन्जर्स विरुद्ध नै दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए ।

सोमबार मात्रै काठमाडौं आइपुगेका रोयले एनपीएलमा डेब्यु गर्दै ४६ रन जोडे । रोयले ३४ बल खेल्दै २ चौका र ३ छक्का मदतमा ४६ रन जोडे । यस्तै धनन्जय लक्षनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै अविजित २३ रन जोडे । रोसिङटन र लक्षनले अविजित ४० रनको साझेदारी गरे ।

कर्णालीका नन्दन यादव र मार्क वाटले १-१ विकेट लिए ।

  • १६ मंसिर २०८२, मंगलवार २१:२८ प्रकाशित