पोखरा ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले डिसेम्बर ३ मा ३४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा पोखरामा सचेतना तथा जनचेतना कार्यक्रम गर्ने भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा महासंघले डिसेम्बर २ तारिख अर्थात भोलि गण्डकी प्रदेशमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०८२ कार्यान्वयनको मार्गचित्र कार्यशाला गर्ने आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
डिसेम्बर ३ तारिखको दिन पोखराको जिरो कि.मी देखि पृथ्वीचोकसम्म प्रभात फेरी गरी सभा आयोजना हुने अध्यक्ष हेमबहादुर गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।
२०५० सालमा स्थापित राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा देशभरबाट ४०० भन्दा बढी सदस्यहरु रहेका छन् । यस संस्थाले अपाङगता भएकाहरुलाई क्षमता विकास र अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।
गण्डकी प्रदेशमा ७२ हजार ३३० जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । गण्डकी प्रदेश सरकारले अपाङगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०८२ भाद्र ३ गते पारित गरेको छ ।















