पोखरा ।
यःमरी पुन्ही अर्थात यमरी पूर्णिमाको अवसरमा पोखराको गणेश टोलको सडकमा यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता भएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा आज (शनिबार) भएको महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
उनले सबै जातजाति, भाषा संस्सकृतिको संरक्षण गर्ने पोखरा महानगरको नीति रहेको जानकारी थिए । प्रमुख आचार्यले पोखराको उक्त क्षेत्र पोखराको ऐतीहासिक महत्वको क्षेत्र र बजार प्रारम्भ भएको क्षेत्र रहेकाले यसको संरक्षणका लागि महानगरले विशेष योजना बनाएको समेत बताए । उक्त क्षेत्रलाई ऐतीहासिक संपदा क्षेत्रको रुपमा विकास गर्ने उनको भनाई छ । त्यसका लागि काम भइरहेको उनले बताए ।

नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले पोखरा महानगर र वडा नम्बर ४ ले मौलिक कला र संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । विकासमा सहकार्य गर्नुपर्नेमा उनको जोड थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले मौलिक र परम्परागत संस्कृतिसंग जोडिएका वा अन्य जुनसुकै अवस्थामा पनि नेपाल प्रहरी शान्तिसुरक्षा कायम गर्न सक्षम रहेको बताए ।

कार्यक्रमको सभापतिको आसनबाट बोल्दै पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले आफ्नो वडाले कला र संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण कार्य गरेको बताए । उनले विकास भनेको भौतिक पूर्वाधार मात्र निर्माण गर्नु नभएर कला र संस्कृतिको संरक्षण पनि रहेको बताए । उनले कला र संस्कृतिको संरक्षण र उक्त स्थानमा रहेको पुरानो बस्तीलाई विकास गर्न विशेष योजनाका साथ अगाडि बढेको जानकारी दिए ।

महोत्सवमा यःमरी बनाउने प्रतियोगितासहित यःमरी बनाएको लाईभ डेमोष्ट्रेसन भएको नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले बताईन् । महोत्सवमा यःमरीको प्रदर्शनी तथा बिक्रीसहित विभिन्न नेवारी परिकारहरुको प्रदर्शनी तथा विक्री गरिएको छ । महोत्सवमा यःमरीसहित नेपाली पिज्जा, बारा, सेलरोटी, समयबजीलगायतका परिकारहरुको स्टल राखिएका छन् ।

विभिन्न सांगीतिक प्रस्तुति राखिएका छन् । मौलिक लाखे नाच, कुमारी नाच लगायत अन्य सांस्कृतिक झाँकीहरुको समेत प्रस्तुत गरिएको छ । महोत्सव उद्घाटन अघि झाँकीसहितको ¥याली निकालिएको थियो । पोखरा ४ को कार्यालयबाट सुरु ¥याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोलहुँदै गणेशटोलमा पुगेर उद्घाटन समारोहमा परिणत भएको हो ।

¥यालीमा सहभागिहरु मध्ये प्रथम हुने समूहलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी यःमरी प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।





















