हानोई ।
केही दिनयताको मुसलधारे वर्षा र पहिरोमा परेर भियतनाममा कम्तीमा ९० जनाको ज्यान गएको छ । अरू १२ जना बेपत्ता रहेको बताइएको छ ।देशभर बाढी र पहिरोका कारण १ लाख ८६ हजार घरमा क्षति पुगेको बताइएको छ । बाढी र पहिरोमा परेर ३ लाखभन्दा बढी वस्तुभाउ बगाएको भियतनामी सरकारले बताएको छ ।
अर्बौको क्षति भएको हुनसक्ने अधिकारीहरूले अनुमान गरेका छन् । नोभेम्बर १६ यता बाढी र पहिरोका कारण पहाडी प्रान्त डाक लाक गम्भीर रूपमा प्रभावित भएको र यहाँ मात्रै ६० भन्दा बढीको मृत्यु भएको समाचार संस्था एएफपीले बताएको छ ।
कालमेगी र बुआलोई समुद्री आँधी एकपछि अर्को गर्दै भियतनाममा वितण्डा मच्चाएको केही समयपछि आएको मुसलधारे वर्षा र पहिरोले यतिबेला भियतनामलाई अस्तव्यस्त बनाएको छ । यी सबै हालैका महिनाहरूमा भियतनामले भोगेको विषम मौसमी घटना हुन् ।
आइतबार बिहान लगभग २ लाख ५८ हजार मानिस बिजुलीविहीन थिए । प्रमुख राजमार्ग र रेलमार्गका खण्डहरू पनि अवरुद्ध भएको अधिकारीहरूले भनेका छन् । सबैभन्दा बढी प्रभावित क्षेत्रमा सहयोग गर्न सैन्य र प्रहरी स्रोतहरू परिचालन गरिएको छ ।















