अस्ट्रेलियाले १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाका लागि १० डिसेम्बरदेखि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै छ । यसअन्तर्गत १६ वर्षमुनिका बालबालिकाले खाता खोल्न सक्ने छैनन् । पुराना खाता पनि निष्क्रिय वा हटाएको सुनिश्चित गर्ने दायित्व सामाजिक सञ्जाल कम्पनीको हुनेछ ।

विश्वमै पहिलोपटक लागु हुन लागेको यो नीति अस्ट्रेलियाका अभिभावकबीच लोकप्रिय देखिएको छ । बालबालिकाले सामाजिक सञ्जालमा बिताउने समय र त्यसले ल्याउने जोखिम कम गर्ने लक्ष्य सरकारको छ ।

सरकारले यस वर्षको सुरुमा गराएको अध्ययनअनुसार, १० देखि १५ वर्षका ९६ प्रतिशत बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्छन् । तीमध्ये सात जनाले हानिकारक सामग्री तथा व्यवहारको सामना गर्नुपरेको पाइएको छ । यसमा महिलाविरोधी, झगडा र आत्महत्यालाई बढावा दिने सामग्री थिए । आधाभन्दा बढीले आफूहरू ‘साइबर बुलिङ’को सिकार भएको बताएका थिए ।

कुन–कुन प्लेटफर्म प्रभावित छन् ?

अस्ट्रेलिया सरकारले अहिलेसम्म १० वटा प्लेटफर्ममा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसमा फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, एक्स, युट्युब, रेडिट तथा स्ट्रिमिङ प्लेटफर्म किक र ट्विच छन् ।

अनलाइन गेमिङलाई पनि प्रतिबन्धमा राख्न सरकारमाथि दबाब छ । प्रतिबन्धमा पर्न सक्ने डरले रोब्लक्स र डिस्कर्डजस्ता गेमिङ प्लेटफर्मले भर्खरै उमेर जाँच प्रणाली सुरु गरेका छन् ।

सरकारले प्लेटफर्महरूको सूची निरन्तर समीक्षा गरिने जनाएको छ ।

प्रतिबन्धमा युट्युब किड्स, गुगल क्लासरुम र ह्वाट्सएप पर्दैनन् । बालबालिकाले युट्युबजस्ता प्लेटफर्ममा खाता नखोली हेर्न मिल्ने सामग्री भने हेर्न पाउनेछन् ।

प्रतिबन्ध कसरी लागु हुन्छ ?
यो नियम उल्लंघन गरेमा बालबालिका र अभिभावकलाई सजाय हुने छैन । बरु सामाजिक सञ्जाल कम्पनी नै जिम्मेवार हुनुपर्नेछ । गम्भीर वा पटकपटक नियम उल्लंघन भएमा ४९.५ मिलियन अस्ट्रेलियन डलरसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।

कम्पनीहरूले बालबालिकालाई प्लेटफर्मबाट टाढा राख्न उचित कदम चाल्नुपर्ने र उमेर यकिन गर्ने प्रविधि प्रयोग गर्नुपर्ने सरकारले जनाएको छ ।

  • ५ मंसिर २०८२, शुक्रबार १५:५२ प्रकाशित