काठमाडौं ।
नेकपा एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको गेट तोडेको छ । केही युवाहरु विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका हुन् ।
विमानस्थलको मुख्य गेटमा दुई जना मात्र प्रहरी तैनाथ थिए । युवाहरुले विमानस्थलको गेट बाहिरबाट धकेल्न थालेपछि भित्रबाट ती प्रहरीहरुले रोक्न खोजेका थिए । तर प्रहरीहरुले सकेनन् ।
गेट भाँचिएर प्रहरीकै माथि खसेको थियो । त्यसपछि केही युवाहरु भित्र छिरेका थिए । तर केहीबेरमै उनीहरुलाई प्रहरीले बाहिर निकालेको थियो ।
बाराको परवानीपुरमा आज आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली बारा जाँदै थियो । नेताहरु बारा नपुग्दै स्थानीय युवा र एमाले कार्यकर्ताहरुबीच सिमरा बजारमा झडप भएको थियो ।
त्यसपछि आक्रोशित समूह एमाले नेताहरु विमानस्थल आउन लागेको सूचना पाएपछि आक्रोशित केही युवाहरु विमानस्थलको गेट फुटाउँदै भित्र प्रवेश गरेका थिए ।
सिमराका सबै उडान रद्द, उडेन एमाले नेताहरू चढेको जहाज
सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ ।
यहाँ बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो । आज एकमात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो ।
सो जहाज धावनमार्ग नपुग्दै फर्काइएको छ । अहिले बारामा कर्फ्यु आदेश जारी भएको छ । जसले गर्दा आजका लागि निर्धारित उडानहरू रद्द गरिएको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।















