सुर्खेत ।
नेकपा एमाले नेतृ तथा पूर्वसांसद शान्ता चौधरीको ‘शान्ताको अचार’ उद्योगको सुर्खेत वीरेन्द्रनगरस्थित भर्खरै उद्घाटन गरिएको शाखामा आगलागी भएको छ ।
शुक्रबार मात्रै भव्य उद्घाटन भएको यस शाखामा आइतबार बिहान करिब ३ बजेतिर आगलागी भएको हो । आगलागीको घटनालाई नेतृ चौधरीले ‘शङ्कास्पद’ भन्दै तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेकी छिन् ।
प्रहरीका अनुसार, बिहान करिब ३ बजेतिर नगरपालिकाको दमकल गणेशचोकतिर पानी भर्न जाँदै गर्दा दमकलका चालकले बजारमा धुवाँको मुस्लो देखेका थिए । चालकले नै प्रहरीलाई खबर गरी दमकलसहित घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए ।
प्रारम्भिक अनुसन्धानबाट आगो पसलसँगै रहेको फेन्सी स्टोरबाट सुरु भई अचार पसलमा फैलिएको देखिन्छ । आगजनीबाट चौधरीको करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । यद्यपि, प्रहरीले क्षतिको यकिन विवरण बनाउने काम गरिरहेको छ ।
चौधरीले सामाजिक सञ्जालमार्फत तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरीसँग माग गरेकी छिन् ।















