सबै वामपन्थीलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डले सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन् । मंगलबार विहान एक अपिल जारी गर्दै उनले माओवादीसहित देशका सबै वामपन्थीलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन आह्वान गरेका हुन् ।

उनले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमा देखापरेका चुनौती हल गर्न देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको बताए ।

‘यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रासामु छ’, प्रचण्डले भनेका छन्, ‘राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादी सहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो ।’

उनले अगाडि भनेका छन्, ‘यस सत्यलाई आत्मसात् गर्दै म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु ।’

  • ११ कार्तिक २०८२, मंगलवार ०९:३७ प्रकाशित