बक्यौता नतिर्ने उद्योगको लाइन आजै काटिन्छ : प्राधिकरण

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत बिजुली उपभोग गरेपनि बक्यौता रकम नतिरेका उद्योगको लाइन आजै काट्ने भएको छ । प्राधिकरणले बक्यौता रकम तिर्न दिएको अन्तिम म्याद आज (आइतबार) बेलुका सकिँदै छ ।

प्राधिकरणले दिएको म्याद सकिएसँगै बक्यौता रकम नबुझाउने उद्योगको जुनसुकै बेला लाइन काट्ने प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

उनले प्राधिकरणले कात्तिक २ गतेसम्म बक्यौता रकम बुझाउन समय दिए पनि अहिलेसम्म ९ उद्योग मात्रै सम्पर्कमा आएको तर अन्य उद्योगहरूले अटेर गरेकाले आज जुनसुकै बेला पनि लाइन काट्न सकिने बताए ।

उनले भने,‘ प्राधिकरणले दिएको अन्तिम म्याद सकिने बित्तिकै जुनसुकै समयमा ती बक्यौता तिर्न अटेर गर्ने उद्योगहरूमा लाइन काटिन्छ ।’

प्राधिकरणको अल्टिमेटमलाई बेवास्ता गर्दै अझै ३१ वटा ठुला उद्योगले बक्यौता तिर्न गएका छैनन् । प्रमाण विना रकम बुझाउन नसक्ने भन्दै उद्योगीहरू ऊर्जा मन्त्रीलाई भेटेर समयअवघि थप गर्न माग गरिरहेका छन् ।

ऊर्जामन्त्री कुलमान घिसिङलाई भेटेर म्याद थप, २५ प्रतिशत जरिवाना छुट र किस्ताको अवधि बढाउन माग गरेको थियो । जवाफमा मन्त्री घिसिङले जरिवाना छुट र म्याद थप गर्न नसकिने स्पष्ट पारेका थिए ।

  • २ कार्तिक २०८२, आईतवार १५:४७ प्रकाशित