कांग्रेस केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय भएका छन् । बिहीबार बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले ८ एजेन्डा तय गरेको एक पदाधिकारीले जानकारी दिए ।

प्राप्त एजेन्डाको सूचीको पहिलो नम्बरमा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा छ भने दोस्रो एजेन्डाका रूपमा पार्टीको १५ औँ महाधिवेशन राखिएको छ ।

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने र नभएमा विशेष महाधिवेशन गर्नुपर्ने भन्दै बुधबार ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाइएको छ । डा। शेखर कोइराला नेतृत्वको इतर समूहले मंसिरमै विधि र प्रक्रिया पुर्‍याइ नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेको छ ।

संस्थापन नियमित महाधिवेशन गर्न राजी छ तर, मंसिरमा विधि र प्रक्रिया पुर्‍याइ नियमित महाधिवेशन गर्न समय अपुग हुने बताइरहेको छ । यसैबीचमा १५ औँ नियमित महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस हुन लागेको हो ।

मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्लाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बिहीबारबाट खड्काको सभापतित्वमा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

खड्काले कार्यवाहकको जिम्मेवारी पाएपछि बुधबार संस्थापन पक्षीय पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल गरेका थिए ।

संस्थापन पक्षीय नेताहरूले कार्यवाहक सभापति खड्कालाई नियमित महाधिवेशनको कार्यतालिका र सम्पन्न हुने आधारसहितको कार्यतालिका केन्द्रीय समिति बैठकमा पेस गर्न सुझाएका थिए ।

सभापति देउवाले कार्यवाहक दिएपछि विशेष महाधिवेशनको औचित्य सकिएको संस्थापन पक्षीय नेताहरूको भनाइ रहँदै आएको छ ।

  • ३० आश्विन २०८२, बिहीबार १३:४१ प्रकाशित