काठमाडौं ।
जेनजी सहिद परिवारले सरकार समक्ष तीन वटा मन्त्रालयको माग गरेका छन् ।
बिहीबार काठमाडौँमा जेनजी आन्दोलन सहिद परिवार सङ्घर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरूलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भए पनि आफूहरूको उपस्थिति क्याबिनेटमा जरुरी भएको बताएका हुन् ।
शहीद श्रीयाम चौलागाईंका बुबा गणेश चौलागाईंले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेनजी समूह कसैले पनि आफूहरूलाई वास्ता नगरेको गुनासो गरिन् । चौलागाईंले विभिन्न मन्त्रालयहरूमा पटक–पटक ज्ञापन पत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नहुँदा आफूहरू पीडित र शहीद परिवारले गहिरो पीडा भोग्नुपरेको गुनासो गरिन् ।
सो जेनजी शहीद परिवार सङ्घर्ष समितिले सरकार समक्ष श्रम तथा रोजगार मन्त्रालयको लागि शहीद विजय चौधरीको दाजु दीपक चौधरी, खानेपानी मन्त्रालयमा शहीद इस्वत अधिकारीको आफन्त भोजविक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयको लागि शहीद योगेन्द्र न्यौपानेको मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ । समितिले सो माग ७ दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।















