काठमाडौं ।
सुशीला कार्की नेतृत्वको सरकारले अनावश्यक राजनीतिक नियुक्ति खारेज गर्ने र आवश्यक नियुक्ति पाएकाहरूको सेवा सुविधा खोस्ने निर्णय गरेपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालका स्वकीय सचिव विष्णुप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन् ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सचिवालयले उपलब्ध गराएको गाडी सापकोटाले फिर्ता गरेको जानकारी दिए ।
राष्ट्रियसभा अध्यक्षका स्वकीयलाई गाडी उपलब्ध गराउने कानुनी व्यवस्था नभए पनि सम्माननीयको स्वकीय राजपत्रांकित प्रथम श्रेणी सरह हुने र प्रथम श्रेणीका कर्मचारीलाई सरकारले गाडी उपलब्ध गराउने भएका हिसाबले सचिवालयले सापकोटालाई गाडी उपलब्ध गराएको थियो ।
त्यही हैसियतका सभामुख देवराज घिमिरेका स्वकीय सचिव तेजप्रसाद भट्टराईले भने सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छैनन् । सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले भट्टराईले गाडी अहिलेसम्म फिर्ता नगरेको र फिर्ताका लागि छलफलमा रहेको जानकारी दिए ।
सङ्घीय संसद्का पूर्वपदाधिकारीहरूले मन्त्रिपरिषद्को निर्णयअनुसार पाएको गाडी सुविधा पनि धमाधम फिर्ता गरिरहेका छन् ।















