एमाले कास्कीको अधिवेशनमा मतदान सम्पन्न, ८९६ मत खस्यो

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेको नया नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । नेकपा एमाले कास्कीको दशौं अधिवेशन अन्तर्गत नया नेतृत्व चयनका लागि बुधबार भएको मतदानमा ९१९ प्रतिनिधि रहेकामा ८९६ प्रतिनिधिले मत दिएका निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिएका छन्।

उनका अनुसार विहान ९ बजेदेखि शुरु भएको मतदान अपराह्न ४ बजेसम्म चलेको थियो । एमाले कास्कीको अध्यक्षमा दामोदर बैरागी र मनबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन्। प्यानलसहित प्रतिस्पर्धामा रहेका बैरागीलाई संगठन विभाग प्रमुख खगराज अधिकारीले समर्थन गरेका छन् । गुरुङलाई उपमहासचिव पृथ्वी सुब्बा गुरुङले समर्थन गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा बैरागी प्यानलका प्रभा कोइराला र गुरुङ प्यानलका तेजनारायण अधिकारी, सचिवमा बैरागी समूहका बैनबहादुर अधिकारी क्षेत्री र गुरुङ प्यानलका विष्णुबहादुर केसीले प्रतिस्पर्धा गरेका छन् ।

यसैगरी दुई उप–सचिवमा बैरागी समूहबाट दर्शन लामा र नवराज ओझा तथा गुरुङ समूहबाट मनभुजा विक र ईमानराज पौडेल र स्वतन्त्र उम्मेदवार सुनकुमारी भुजेल चुनावी प्रतिस्पर्धामा छन् ।

मतदान सकिएकाले साँझ ६ बजेदेखि मतगणना शुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृत थापा मगरले जानकारी दिए ।

  • २७ पुष २०७८, मंगलवार १७:२५ प्रकाशित