जेन – जी आन्दोलनमा जलेको पोखराको वडा नम्बर १२ को कार्यालय पुनः निर्माण गर्न समिति गठन

केन्द्रभाग मिडिया

पोखरा ।

जेन-जी आन्दोलनका क्रममा नष्ट भएको पोखरा महानगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवन पुनः निर्माण गर्न नागरिक स्तरको समिति गठन भएको छ ।

सेवा प्रवाहमै समस्या भएपछि आपतकालीन पुनर्निर्माण योजना अगाडि सारिएको हो । मंगलबार वडामा भेला भएका स्थानीयले टिकाबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरेको छ ।

आन्दोलनका क्रममा कार्यालयमा तोडफोड र आगजनीका कारण २ करोड ६५ लाख भन्दा बढीको क्षति भएको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । आगजनीबाट सम्पूर्ण अभिलेख, कम्प्युटर, फर्निचर र उपकरण जलेर नष्ट भएको उनले बताए ।

समितिको सचिवमा पूर्ण गुरुङ, कोषाध्यक्षमा लक्ष्मी कोइराला तथा सदस्यमा डा। अनिल सुवेदी, मिन गुरुङ, दानबहादुर बस्नेत र वीर बहादुर थापा चयन भएका छन् ।

उनका अनुसार पहिलो तलाबाट काम चलाउन मात्रै २२ लाख भन्दा बढी खर्च हुनेछ । उक्त रकम टोल विकाससंस्था, आमा समूह, युवा क्लब र अन्य सङ्घ संस्थाले व्यहोर्ने घोषणा गरेका छन् ।

आगजनीका कारण भवनको २५ वर्ष आयु घटेको इन्जिनियरहरूले बताएका छन् ।

  • ३१ भाद्र २०८२, मंगलवार १५:४२ प्रकाशित