पोखरा ।
जेनजी समूहले गरेको आगजनीका क्रममा जलेर खण्डहर बनेको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका कर्मचारी आँफै कार्यालयको सरसफाईमा जुटेका छन् । कर्मचारी र केही यातायात व्यवसायी समेत कार्यालयको सरसफाईमा जुटेको यातायात व्यवस्था कार्यालय सवारी कास्की प्रमुख ढाका प्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार कार्यालयको मुल भवनबाट तत्काल सेवा दिने स्थिति नरहेकाले सुरुमा टहरा र क्यान्टिनबाट सेवा दिने तयारी छ । त्यसका लागि सरसफाई गर्नेकाम भइरहेको छ । सेवा कहिले सुरु हुन्छ भनेर भन्न नसकेपनि एक हप्ता पछि सेवा दिनेगरि तयारीमा जुटेको उनले बताए । सोमबार विहान कार्यालय समय सुरु भएपछि गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी र पोखरा महानगरका कर्मचारीको रोहबरमा मुजुल्का उठाएपछि कर्मचारीहरु सरसफाईमा जुटेका हुन् ।
दैनिक सात सयको हाराहारीमा सेवाग्राही रहेको कार्यालय र त्यहाँ रहेका कागेजातसहित सबै सामग्री जलेर नष्ट भएका छन् । ‘काम लाग्ने कूरा केहीपनि छैन । मुल भवनबाट सेवा दिन तत्काल कुनै सम्भव देखिँदैन । क्यान्टिनबाट सुरुमा सेवा दिने तयारीमा छौं । एक हप्तापछि सेवा सुरु गर्न सकिन्छ भन्ने हो । तर, ठ्याक्कै कहिले भन्ने अवस्था छैन’ उनले भने ।
प्रमुख शर्माले तत्काल सवारी साधनको विलबुक नविकरण गर्न र जाँचपासका गर्नुपर्ने भए यातायात व्यवस्था सेवा कार्यालय डुम्रे र यातायात व्यवस्था कार्यालय वागलुङमा जान सेवाग्राहीलाई आग्रह गरेका छन् ।















