पोखरा ।
जेनजी समूहको प्रदर्शनका क्रममा भएको आगनीका कारण ठप्प पोखरा महानगरपालिकाको सेवा १ असोजबाट सुरु हुने भएको छ । महानगरको ५२ औं कार्यपालिका बैठकले आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरुमा भएको क्षतिको एकीन विवरण संकलन गर्ने र उचित ठाउँको व्यवस्थापन गरी सेवा दिने निर्णय गरेको हो । महानगरका प्रवक्ता मोति तिमिल्सिनाले भर्चुअल रुपमा बैठक बसेर सेवा प्रवाहलाई सुचारु गर्ने निर्णय गरिएको जानकारी दिए । कार्यपालिकाको शनिबार भर्चुअल बैठक बसेको थियो । बैठकले १ असोजबाट नै सरकारी विद्यालय पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।
उनका अनुसार बैठकले आन्दोलनबाट क्षति पुगेका संरचनामा पुगेको क्षतिको लगत संकलन गर्ने र क्षति नपुगेका संरचनाहरुबाट सेवा दिन थाल्ने महानगरले निर्णय गरेको छ । जेनजी समूहको प्रदर्शनका क्रममा २४ भदौमा कास्कीमा सबैभन्दा पहिले पोखरा महानगरपालिकाको कार्यालयबाट तोडफोडको सृंखला सुरु भएको थियो ।
त्यसलगत्तै महानगरका वडा कार्यालयहरु, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गण्डकी प्रदेशसभा भवन, जिल्ला अदालत कास्की, गण्डकी प्रदेशका मन्त्री विन्दु थापाको निजी निवास, महानगर प्रमुख आचार्यको निजी निवास, भाटभटेनी, पोखरा इभेन्ट सेन्टर लगायतका सरकारी र निजी संरचनामा आगजनी भएको थियो ।
आन्दोलनमा घुसपैठ गरी सरकारी संरचना ध्वस्त पारिएकोप्रति महानगरको कार्यपालिका बैठकले दुःख व्यक्त गर्दै दोषीमाथि कारबाहीको मागसमेत गरेको छ ।
पोखरा नयाँबजारमा निर्माण सम्पन्न भएको वाणिज्य बैंकको भवनमा महानगरको कार्यालय प्रयोगका लागि उपलब्ध गराउन यसअघि आग्रह गर्ने कार्यपालिका बैठकमा छलफल भएको थियो । त्यो विषयमा पनि सम्बन्धित निकायसँग छलफल अगाडि बढाउने तयारी भइरहेको छ ।















