एमाले कास्कीमा नेतृत्व छान्न मतदान जारीः उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरु)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कास्कीको नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । पोखरा सभागृहभा बिहान ११ः३० बजे देखि मतदान सुरु भएको हो । शुक्रबार देखी पोखरा सभागृहमा सुरु भएको १० औँ अधिवेशनमा सहमितिको प्रयास असफल भए पछि आज मतदान सुरु भएको हो । प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले एक बजे सम्म तीन सय बढि मत खसेको जानकारी दिए । मतदानका लागि मतदाता सभागृहको गेटमा लामबद्ध छन् ।


नेतृत्वको लागि अध्यक्ष, उपाध्यक्ष र सचिवमा २ २ जना र उपसचिवमा ४ जनाको उम्मेदवारी परेको छ । सदस्यमा १५३ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा मनबहादुर गुरुङ र दामोदर बैरागीको मनोनयन परेको छ । गुरुङ प्यानलमा उपाध्यक्षमा तेजनारायण अधिकारी, सचिवमा विष्णु केसी तथा उपसचिवमा इमानराज शर्मा र मन्बुजा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।


बैरागी प्यानलबाट उपाध्यक्षमा प्रभा कोइराला, सचिव बैनबहादुर अधिकारीको उम्मेदवारी परेको छ भने, उपसचिवमा नवराज ओझा र लेखबहादुर तामाङले उम्मेदवारी दिएका छन् ।


एमाले जिल्ला कमिटीमा १ सय २० सदस्यीय हुने छ । भूगोलबाट ६० सदस्य, समावेशी तर्फ ४३ र खुला तर्फ २२ सदस्य निर्वाचित हुनेछन् ।


अधिवेशनअन्तर्गत भौगोलिक तथा गैरभौगोलिक क्षेत्रका उम्मेद्वार निर्विरोध भएका छन् । शुक्रबार सुरु भएको एमाले अधिवेशन पाचौँ दिनमा मतदानबाट निर्वाचन सम्पन्न हुदैँछ । कास्कीमा नेतृत्व चयनका लागि ७१४ मतदाता छन् ।

  • २७ पुष २०७८, मंगलवार १३:२४ प्रकाशित