दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइको लागि पेसी तोकियो

केन्द्रभाग मिडिया

काठमाडौं।

राजावादी आन्दोलनका क्रममा चैत १५ को तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका जिल्ला अदालत काठमाडौँमा पेसी तोकिएको छ । न्यायाधीश उमानाथ गौतमको इजलासमा सुनुवाइका लागि पहिलो नम्बरमै पेसी तोकिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, र सङ्गठित अपराध लगायतको कसुरमा दुर्गा प्रसाईँसहितलाई मुद्दा दायर गरेको थियो ।

यसअघि जेठ ३० मा न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएकामध्ये जम्मा ७ जनालाई थुनामा पठाउन आदेश गरेको थियो । सो उपर प्रसाईँसहित चार जना उच्च अदालत पुगेका थिए । उच्चले धरौटीमा छाड्न आदेश दिएपछि प्रसाईँ रिहा भएका थिए ।

राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईँले प्रहरीलाई किच्ने गरी गाडी कुदाएका थिए । उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्रमा ढुंगामुढा, आगजनी, तोडफोड र लुटपाट गरेका थिए । हिंसात्मक घटनामा परी एकजना पत्रकारसहित दुईजनाको ज्यान गएको थियो ।

  • १५ भाद्र २०८२, आईतवार १२:५९ प्रकाशित