भारतबाट पोखरा ल्याइएका ७ मुर्रा राँगा मध्ये एउटा मर्यो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा  विज्ञ टोली खटाएर अनुसन्धान, बाँकी राँगा भने स्वस्थ  

केन्द्रभाग मिडिया

पोखरा ।

तत्कालिन प्रधानमन्त्री प्रचण्डको छिमेकी मुलुक भारत भ्रमणको क्रममा नेपाललाई उपहारमा प्राप्त भई पोखरा ल्याएका उन्नत जातका ७ वटा मुर्रा राँगामध्ये एउटा राँगा मरेको छ । तर मरेको विषय भने राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराले गुपचुप राखेको पाइएको छ । ३० साउनमा राँगा मरेको तर त्यस सम्बन्धमा सम्बन्धित कार्यालयबाट नभई अन्यत्रबाट जानकारी आएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अबस्था बुझ्न र अनुसन्धान गरेर प्रतिवेदन बुझाउन भन्दै छानविन  समिति नै बनाएर अनुसन्धान गराएको छ ।

अनुसन्धानका लागि सहसचिव डा. पशुपति ढुंगानाको नेतृत्वमा उपमहानिर्देशक डा. सुलोचना श्रेष्ठ र वरिष्ठ पशु चिकित्सक डा. किरण पाण्डे सम्मिलत टोली नै खटाएर अनुसन्धान अगाडि बढाएको हो । गत विहीबार मन्त्रालयले खटाएकोमा टोलीले आवश्यक अनुसन्धान गरेर काठमाडौं फर्किसकेको छ । मन्त्रालयबाट अनुसन्धानका लागि टोली आएर फर्केको राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका वरिष्ठ पशु विकास अधिकृत महेन्द्रराज पाण्डेले बताए ।

पाण्डेले केन्द्रमा जानकारी नगराएको भन्ने विषयलाई भने अस्विकार गरे । गत १७ असारबाट उक्त राँगा विरामी भएको र नियमित उपचारका क्रममा ३० साउनमा राँगा मरेको उनले बताए । ‘लापरबाहीका कारण राँगा मर्यो भन्ने नै हुँदैन । हामीकहाँ ६ जना नियमित डाक्टरसाब हुनुहुन्छ । नियमित चेकजाँच र केयरिङ भएको छ । आवश्यक जानकारी पनि सम्बन्धित ठाउँमा पठाएका हौं । यसमा कुनै लापरबाही छैन । केन्द्रबाट अनुसन्धानका लागि आएको टोलीले पनि सबै विवरण लिएर फर्किनुभएको छ । अब उहाँहरुले के प्रतिवेदन दिनुहुन्छ भन्ने कूरा त्यसपछि नै थाहा होला’ उनले भने ।

टोलीको नेतृत्व गरेका सहसचिव पशुपति ढुंगानाले पशु रोगका कारण मरेको पाइएको बताए । यद्यपी यससम्बन्धि प्रतिवेदन निर्माणकै क्रममा रहेको उनले जानकारी दिए । ‘हामीले पोखरामा उपचारको विवरणहरु हेर्यौं । ल्यावका प्रतिवेदनहरु हेर्यौं राँगा रोगकै कारण मरेको हो’ उनले भने ।

भारत ल्याइएका १५ मध्य १४ राँगा भने स्वस्थ

नेपाल ल्याइएका मध्य ८ मंसिर २०८० मा सात वटा राँगा पोखरा ल्याइएको हो । एउटा राँगा मरेको भएपनि बाँकी ६ वटा राँगा भने स्वस्थ रहेको पशु प्रजनन् कार्यालय पोखराले जानकारी दिएको छ । नेपालमा ल्याइएका राँगा भारतको केन्द्रीय अनुसन्धान केन्द्रमा पुगेरै नेपाली विज्ञले छानेर ल्याएका थिए ।

नेपालमा यस अगाडि पनि मुर्रा राँगा र भैंसी ल्याइएका भएपनि कुनै निकायबाट प्रमाणित नगरी विभिन्नढंगले ल्याएका ती राँगा, भैंसी मुर्रा थिए थिएनन् भन्ने थाहा हुन्थेन । यी राँगा भने पहिलो पटक नेपाली विज्ञ टोली नै पुगेर व्याच नम्बर हेरेर सबै हिसाबले प्रमाणित मुर्रा राँगा औपचारिक रुपमा पहिलो पटक नेपाल ल्याएको थियो ।

सरकारले यहाँका रैथाने भैंसीमा नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा ल्याएको हो । राष्ट्रिय पशु प्रजनन् विभागका अनुसार पोखरामा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा ७ वटा, लहानमा ५ वटा र बाँकेको खजुरास्थित गौघाटमा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा ३ वटा राँगा राखिएको हो । त्यस मध्ये पोखरा ल्याएकोमा एउटा राँगा मरेको हो भने बाँकी सबै राँगा स्वस्थ रहेको र उत्पादन समेत राम्रो दिइरहेको मन्त्रालयका सहसचिव ढुंगानाले जानकारी दिए ।

  • ९ भाद्र २०८२, सोमबार १५:०० प्रकाशित