कुलिङ पिरियडको विषयमा कर्मचारीले ठूलो राजनीति गरे : सञ्चारमन्त्री गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कुलिङ पिरियडमा उच्च पदस्थ कर्मचारीले ठूलो राजनीतिक चलखेल गरेको टिप्पणी गरेका छन् । पोखरामा शुक्रबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पाणी गरेका हुन् ।

कुलिङ पिरियड सुशासनसंग जोडिएको विषय हो भन्दै उनले कुनै मन्त्री, सभामुख, प्रधानन्त्री वा शक्ति केन्द्रलाई विश्वासमा लिने र रिटार्यड भएपछि लाभपाउने अपेक्षाकै कारण उच्च पदस्थ कर्मचारीले कुलिङ पिरियडको प्राव्धानका विषयमा चलखेल गरेको उनको भनाई छ ।

निकटताका आधारमा नियुत्ति लिँदा संबैधानिक निकाय समेत प्रभावित हुनेगरेको देखेर नै कुलिङ पिरियड आवश्यक भएको उनले बताए । ‘स्वार्थ नबाझियोस्, संबैधानिक न्युक्तिका लागि मन्त्री, सभामुख, प्रधानमन्त्री रिझाउने काम नहोस् । दलको छायाँ संबैधानिक अंगमा पर्ने परिस्थिति नबनोस्, नियुक्तिकै लागि चाकडी गर्ने प्रवृत्ति अन्त्य होस् भनेर नै कुलिङ पिरियडको प्राबधान राख्न खोजिएको हो । यसमै उच्च पदस्थ कर्मचारीहरुले ठूलो राजनीति गरे । जसका कारण समितिका सभापति (रामहरी खतिवडा) ले राजिनामा दिनुपर्ने परिस्थिति आयो’ उनले भने ।

राज्य व्यवस्था समितिबाट पारित भएको निजामति कर्मचारीसँग सम्बन्धित निजामती सेवा विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटी भएको निष्कर्ष संसदीय छानबिन समितिले निकालेपछि रामहरि खतिवडाले समिति सभापति पदबाट राजिनामा दिनुपरेको थियो । उक्त विधेयक प्रतिनिसभाबाट परित भएर अहिले राष्ट्रिय सभामा विचाराधिन छ ।

मन्त्री गुरुङले संसद र संसदीय समितिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको भन्दै प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसंग असन्तुष्टि समेत पोखे । टाइमलान तोकेर काम गर्न उनले आग्रह गरे ।

समितिका बैठक फटाफट बस्न नसकेका, संसदको सुन्य समय र विशेष समय समेतमा समेत अन्यत्र ध्यानाकर्षण गराएर आफ्नो मुख्य विधेयक बनाउने कामबाट सांसदहरु डाइभर्ट भएका जस्ता विषय उनले उठाएका छन् । समय तोकेर संसदीय समितिलाई महत्वपूर्ण विधेयकहरुमा टुंगोमा पुर्याउन पहल गर्नुपर्ने उनको भनाई छ ।

  • ६ भाद्र २०८२, शुक्रबार ११:४१ प्रकाशित