चितवन ।
चितवनमा जापानिज इन्सेफलाइटिसबाट तीन जनाको ज्यान गएको छ । चितवनका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये तीन जनाको जापानिज इन्सेफ्लाईटिसबाट ज्यान गएको हो। साउन २३ गतेदेखि भदौ ३ गतेसम्मको नमुना परीक्षणका क्रममा ९ जनामा संक्रमण देखिएको थियो। तीमध्ये ३ जनाको ज्यान गएको हो।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार ज्यान गुमाउनेमा कालिका नगरपालिका-५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका-१२ की ७० वर्षीय वृद्धा र भरतपुर महानगरपालिका-१२ की ८१ वर्षीया वृद्धा रहेका छन्। उनीहरूको विगत ११ दिनमा आएको नतिजा हो। गत आर्थिक वर्षमा चितवनमा देखिएका ३ जना संक्रमितमध्ये एक जनाको ज्यान गएको थियो।
जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिमा देखिएको छ। कालिका नगरपालिकामा एउटै वडामा दुई जनालाई संक्रमण देखिएको छ। भरतपुर महानगरपालिकाको तीनवटा वडामा, राप्ती नगरपालिकाको दुईवटा वडामा, खैरहनी नगरपालिकाको एउटा वडामा र माडी नगरपालिकाको एउटा वडामा एकरएक जनामा यो रोगको संक्रमण देखिएको हो।














