कवि तथा संगीतकार नन्दनको निधन

केन्द्रभाग मिडिया

चितवन ।

कवि तथा संगीतकार प्रेमविनोद नन्दनको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका नन्दनको ९० वर्षको उमेरमा आइतबार (भदौ १) राति चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार, उनी लामो समयदेखि श्वासप्रश्वासलगायत समस्याबाट ग्रसित थिए । वि।सं। २०११ सालमा ‘झटारो’ गीतिसंग्रह प्रकाशन गरेर नेपाली गीतसंगीत र साहित्य क्षेत्रमा प्रवेश गरेका नन्दनले गजल, कविता तथा अरू काव्यमा कलम चलाएका छन् ।

उनका धेरै गीत चलचित्र क्षेत्रमा चर्चित छन् । उनका गीतिसंग्रह अञ्जली (२०२३), सपनीबाट ब्युँझेर (२०२३), विपनीका पाइलाहरू (२०५२), ऐनाभित्रको आकाश (२०६३), सिद्धार्थको ग्रहत्याग लघुकाव्य (२०७४) र पत्रम पुष्पम कवितासंग्रह (२०७७) प्रकाशित भएका छन् ।

यस्तै, राष्ट्रियगान छनोटका क्रममा उनको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो ।

  • २ भाद्र २०८२, सोमबार १६:२८ प्रकाशित