पोखरा ।
मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले मनसुन नेपालको पुर्वी भूभाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिएको छ ।
हाल पोखरा, काठमाडौं लगायतका देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
गण्डकी प्रदेशको पहाडी तथा तराई लगायत बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।
मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ । ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।















