नागानो प्रीफेक्चरको टोली र पोखरा महानगरपालिकाका प्रमुख आचार्य बीच भेटवार्ता

केन्द्रभाग मिडिया

पाेखरा ।

जापानको कोमागाने नगरका प्रमुखको निकट भविष्यमा पोखरामा हुने भ्रमणका विषयमा जापानको नागानो प्रीफेक्चरको एक टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता  गरेको छ । नगर प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा कोमागाने नगरका प्रमुख लगायत कोमागाने चेम्बर अफ कमर्सका प्रतिनिधिहरूको पोखरा भ्रमणको तयारी र सन्दर्भका विषयमा छलफल भएको हो ।

उक्त भ्रमणका क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कोमागाने नगरका प्रमुख युजो इतोका बिचमा महत्त्वपूर्ण विषयहरूमा समझदारी हुने बताइएको छ ।

दुई नगरका बिचमा दुई पक्षीय सांस्कृतिक आदानप्रदान, सूचना प्रविधि, जनशक्ति, पर्यटन तथा व्यवसायीक साझेदारी, एक अर्कामा सहयोग आदानप्रदान लगायत विषयहरूमा समझदारी गर्दै सर्वप्रथम सन् २००१ मा भगिनी सम्बन्ध कायम गरिएको थियो । दुई नगरका बिचमा भगिनी सम्बन्ध स्थापना भएको रजत वर्षका अवसरमा हुन लागेको नगर प्रमुख इतोको पोखरा भ्रमणका क्रममा साझेदारी र दुई पक्षीय सम्बन्धको नयाँ श्रृखला सुरु गरिने नगर प्रमुख आचार्यले जान।कारी दिए ।

उनका अनुसार पर्यटकीय राजधानी पोखरालाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार तथा प्रवर्द्धन गर्नेदेखि लिएर रोजगारी, अध्ययन र सीप विकासका सन्दर्भमा दुईपक्षिय हितलाई महत्त्व दिइनेछ ।

जापान सरकारको सहयोगमा पोखरामा विभिन्न परियोजनाहरू सञ्चालनमा रहेको स्मरण गर्दै नगरप्रमुख आचार्यले सहकार्यका लागि आफूहरू तयार रहेको बताए । जापानी टोलीले पोखरा प्राकृतिक रूपमा निकै सुन्दर रहेको यहाँको पर्यटन उद्योगको विकास र नागरिकहरूको जीवनस्तर सुधारका सवालहरूमा हातेमालो गर्न तयार रहेको बताएको छ ।

टोलीमा जापानको तर्फको कासुनोरी कोबाईसी, ताकासी ओकुबो, एनआरएनए नागानो केन प्रीफेक्चर जापानका अध्यक्ष जीवन पौडेल क्षेत्री र पोखरा कोमागाने मैत्रीपूर्ण सम्बन्ध संयोजक उत्तम राज कायस्थ  थिए ।

  • २६ श्रावण २०८२, सोमबार १७:४८ प्रकाशित