बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा गर्न निर्देशन दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट राजीनामा दिने भएका छन् ।

मुख्यमन्त्री लामाले राजीनामा गर्न लागेको उनी निकट प्रदेश सांसद तीर्थ लामाले जानकारी गराए । उनले भने, ‘सभापतिले राजीनामा गर्न निर्देशन हिजो दिनुभएको छ । भोलिसम्म उहाँले राजीनामा दिनुहुन्छ ।’

मुख्यमन्त्रीको एक वर्षे कार्यकाल बिताएका लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित हुँदै दलको नयाँ नेता चयनका लागि निर्वाचन भएको थियो ।

संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भइसकेका छन् । कांग्रेसबाट मुख्यमन्त्रीमा बानियाँलाई बनाउने तयारी छ ।

एकवर्षभित्र राजीनामा गर्ने गरी लामाले बानियाँसँग सहमति गरेको एक पक्षको दाबी छ । त्यस अनुरूपमा लामाले पद नछोडेपछि अविश्वासको प्रस्ताव ल्याइएको उनीसँग असन्तुष्ट पक्षको भनाइ छ ।

  • १६ श्रावण २०८२, शुक्रबार १६:२४ प्रकाशित