कास्कीको घाचोकमा पहिरोले पुरिदाँ एकको ज्यान गयो, एक घाईते

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा हिजो बुधबार पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् ।

घाचोकको लस्तीखोलास्थित हेमजा माछापुच्छ्रे सडक खण्डमा बुधबार विहान करिब १० बजे खसेको पहिरोमा पुरिएर पोखरा महानगरपालिका– २५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए ।

हिजो दिउँसो करिब साढे २ बजे पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला बस्नेतले बताए । बंगुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको खबर प्रहरीले पाएको थियो ।

सोही पहिरोमा परि स्थानीय शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

पोखराबाट विद्यालय जाने क्रममा शिक्षक पोखरेल सवार मोटरसाइकलाई पहिरोले पुरेको हो ।

  • १५ श्रावण २०८२, बिहीबार ११:२० प्रकाशित