काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक भोलि बिहीबार बस्दैछ । बैठकमा एनपीएलको पहिलो संस्करणबारे समीक्षासहित दोस्रो संस्करणको आयोजनालगायत विभिन्न विषयमा छलफल हुँदैछन् ।
नेपाल क्रिकेट संघ ९क्यान०का प्रवक्त छुम्बी लामाले दुई मुख्य विषयहरू एनपीएल र राष्ट्रिय टोलीको विश्वकप यात्रा रहेको बताए । ‘मेन भनेको अब एनपीएलकै बारेमा हुन्छ अनि राष्ट्रिय टोलीको टी-२० विश्वकपसम्म पुग्ने यात्राका बारेमा नै छलफल हुनेछ’ लामाले भने ।
एनपीएलको पहिलो संस्करण गत मंसिर-पुसमा भएको थियो । पहिलो संस्करणबाट प्राप्त भएका उपलब्धि तथा दोस्रो संस्करणका लागि थप गर्न सकिने विविध विषयहरूमा छलफल हुने बुझिएको छ । दोस्रो संस्करणका लागि अक्सनको मिति पनि तय भइसकेको छ ।
नेपाली क्रिकेट टोलीले आगामी अक्टोबरमा टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको संयुक्त रिजनल फाइनल खेल्दै छ । त्यसको तयारीका लागि नेपाली टोली हार भारतमा छ भने केही खेलाडीहरू नेपालमै पनि अभ्यास गरिरहेका छन् ।
टी-२० विश्वकप छनोटको तयारी र विश्वकपसम्मको यात्राबारे पनि बोर्ड बैठकमा छलफल हुनेछ । नेपाली टोलीले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई खेल पनि खेल्दै छ ।
त्यस्तै क्यानको वार्षिक क्यालेन्डरबारे पनि छलफल हुने बताइएको छ । वार्षिक क्यालेन्डरमा उल्लेख भएअनुसार हालसम्मको अवस्थाबारे समीक्षा गरिनेछ भने आगामी क्यालेन्डरमा समेट्न सकिने विषयहरूमा छलफल हुनेछ ।















